Tuesday, December 26, 2017
पिल्लर पुल विस्थापनको तयारीः अत्याधुनिक प्रविधि भित्र्याइँदै
खोटाङ र ओखलढुंगा सिमानाको जयरामघाट पुल अहिले सामाजिक सञ्जालमा छाएको छ । त्यहाँ पुग्ने प्रयोगकर्ताले पुललाई पृष्ठभूमिमा राखेर खिचिएका तस्बिर फेसबुक, टि्वटरमा पोस्ट गर्ने गरेका छन् ।
दूधकोशी नदीमाथिको उक्त पुल मुलुककै नमूना बनेको छ । अन्य नदीनालामा त्यस्तो आकर्षक पुल हालिएको छैन ।
गत मंसिरदेखि सञ्चालनमा आएको पुलमा पिल्लर प्रयोग गरिएको छैन । अन्यभन्दा भिन्न हुनु र विकासको प्रतिविम्ब झल्काउनु नै यसको विशेषता हो ।
उक्त पुलमा बढेको आकर्षणकै कारण सडक विभाग राजमार्गहरुमा त्यस्तै डिजाइन प्रयोग गर्ने तयारीमा जुटेको छ । पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गदै विकासमा फड्को मार्ने विभागको योजना छ ।
मुलुकमा पहिलोपटक बर्दिया र कैलाली सीमाको चिसापानीमा ‘केबल स्टे’ प्रविधिको पुल हालिएको थियो, जुन ०५० सालदेखि सञ्चालनमा आएको हो । उक्त पुलमा जापानी प्रविधि प्रयोग गरिएको छ ।
सोही पुलको सफलतालाई २४ वर्षपछि जयरामघाटको पुलले निरन्तरता दियो । अब पृथ्वी राजमार्गको मुग्लिनमा बन्दै गरेको आर्क बि्रजले त्यसलाई थप अगाडि डोर्याउनेछ ।
एक दशकअघि मुलुकमै पहिलो पटक जयरामघाटमा ‘सस्पेन्सन मोटरेबल बि्रज’ प्रविधि प्रयोग गर्ने निर्णय गर्दै गर्दा विभागका अधिकारीहरुमा असफलता हात लाग्ने संशय देखिन्थ्यो । ढिलै भए पनि पुल तयार भयो र सफलता हात लाग्यो ।
डेढ सय मिटर लामो जयरामघाट पुलका दुई खम्बाबीचको दूरी एक सय २० मिटर छ ।
सोही सफलताबाट हौसिएका विभागका अधिकारीहरु अब अन्य अत्याधुनिक प्रविधि पनि भित्र्याउने योजनामा जुटेका छन् ।
हालसम्म नेपालमा बनेका अधिकांश पुल ‘सिम्प्ली सर्पोटेड बिम’ प्रविधिमा आधारित छन् । २५ मिटर दूरीमा पिल्लर राखेर पुल निर्माण गरिने प्रविधि हो यो ।
भविष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर बि्रजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ ।
‘हामी पुरानै प्रविधिमा बसिरहन सक्दैनौं । विश्वले अपनाएका नयाँ, किफायती, कम खर्चिलो र दिगो किसिमका प्रविधिहरुमा जान चाहन्छौं,’ थापा भन्छन्, ‘विकास र समृद्धिको पूर्वाधारका रुपमा रहेका पुलहरुलाई आधुनिकीकरण गर्ने योजनामा छौं ।’
काठमाडौंमा ‘नेटवर्क आर्क’को प्रयोग
विभागले काठमाडौंका दुई स्थानमा नयाँ प्रविधिमा आधारित पुल निर्माण गर्दैछ । माइतीघर-तीनकुने सडकको धोबीखोला र वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् ।
वागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरिरहेको छ । तर, धोवीखोला पुलको काम तीव्र गतिमा छ । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ ।
ती पुलको ‘नेटवर्क आर्क’ प्रविधि अन्य कुनै पुलमा प्रयोग भएको छैन । खोला वारि-पारि सडकको चौडाइबराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । त्यही जगले पुलको भार थेग्छ ।
आर्क बि्रजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग हुँदैन । बलियो जग हालेपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत् नै पुलको भार बोक्ने संरचना जोडिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । र, सम्पूर्ण भार आर्कले नै थेग्छ ।
खोलाको सतहमा पिल्लर ठड्याउनु नपर्ने भएकाले कम खर्चिलो पनि मानिन्छ, उक्त प्रविधि ।
पुलको सडक भागमा मात्र होइन, आर्कमा पनि आरसीसी प्रविधि अपनाइन्छ । सोही प्रविधिलाई विष्णुमती नदीमाथि परोपकार विद्यालय र नयाँबजारका थप दुई पुलमा पनि प्रयोग गरिँदैछ ।
कलात्मक हुने भएकाले त्यस्ता पुलले शहरको शोभा पनि बढाउने विभागका अधिकारीहरुको भनाइ छ । र, कलात्मक पुललाई मुलुकभरका नदीनालामा विस्तार गर्ने योजनामा छ, सडक विभाग ।
source
Subscribe to:
Post Comments (Atom)
nic
ReplyDelete